सडक बत्ती सहरको आधारभूत पूर्वाधार हो । राति सडक कत्तिको सुरक्षित छ, पैदल हिँड्न कति सहज छ र सवारी चलाउँदा कति जोखिम छ भन्ने कुरा धेरै हदसम्म सडक बत्तीको डिजाइन र जडानमा निर्भर गर्छ । तर नेपालका धेरै सहरमा सडक बत्ती बलिरहेको भए पनि सडक अझै अँध्यारो, असुरक्षित र अव्यवस्थित देखिन्छ । यसको मुख्य कारण गलत सडक बत्ती डिजाइन र अव्यवस्थित योजना हो ।
विशेष गरी ग्रामिण तथा सहर उन्मुख ठाउँमा सडक बत्ती जडान गर्दा सडकको चौडाइ, सवारी चाप, पैदलयात्रीको प्रयोग र आसपासको वातावरणलाई गहिरो रूपमा विश्लेषण गरिँदैन । अनुमानका आधारमा साथै रहिआएको पोलमा बत्ती राखिँदा उज्यालो आवश्यक स्थानमा नपुग्ने समस्या देखिन्छ । कतै अत्यधिक तेज प्रकाशले चालकको आँखामा असर गर्छ भने कतै सडकको बीचमै अँध्यारो भाग रहन्छ । यस्तो अवस्थाले सडक दुर्घटना जोखिम बढाउँछ । उपत्यकाका सहरी क्षेत्रमा भने केहि हद सम्म सडक बत्तीको उचित डिजाइन गरिएतापनि समयमा नबल्ने, नियमित मर्मत सम्भार नहुँदा कहिँ उज्यालो त कहिँ अध्यारो (Black Spot) हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

तस्बिर: techmandu.com
गलत पोल उचाइ र पोलबीचको दूरी पनि प्रमुख समस्या हो । पोल धेरै अग्लो राख्दा तर बत्ती त्यस अनुरुप नहुँदा प्रकाश जमिनसम्म समान रूपमा फैलिँदैन । धेरै होचो पोल राखिँदा तेज चमक उत्पन्न हुन्छ, जसले सवारी चालक र पैदलयात्री दुवैलाई असहज बनाउँछ । सडक बत्तीको दूरी गणना नगरी राखिँदा उज्यालो असमान हुन्छ, जसले राति सडक प्रयोग अझ जोखिमपूर्ण बनाउँछ ।
सडक बत्तीको प्रकाश कुन दिशामा पर्छ भन्ने विषयलाई बेवास्ता गर्नु अर्को गम्भीर कमजोरी हो । प्रकाश आकाशतिर फैलिँदा ऊर्जा खेर जान्छ । गलत कोणमा जडान गरिएको बत्तीले सिधै चालकको आँखामा प्रकाश पार्दा क्षणिक दृष्टि कमजोर हुन्छ । यही कारण धेरै ठाउँमा राति सवारी दुर्घटना हुने गरेको देखिन्छ ।
धेरै सडक बत्ती योजनामा आवश्यक प्रकाशको मात्रा गणना गरिएको हुँदैन । सडक, चोक र पैदल मार्गका लागि तोकिएको न्यूनतम उज्यालो नपुग्दा सडक असुरक्षित हुन्छ । अत्यधिक उज्यालो भएका स्थानमा ऊर्जा खपत बढ्छ भने कम उज्यालो भएका क्षेत्रमा दुर्घटना र अपराधको जोखिम बढ्छ । यसले सडक बत्ती ऊर्जा दक्षता घटाउँछ ।
उज्यालो चाहियो भन्दै ठूलो क्षमताको बत्ती हाल्नु समाधान होइन । धेरै तेज बत्तीले चमक (glare) बढाउँछ, घरभित्र अनावश्यक प्रकाश पस्छ । ऊर्जा खर्च बढे पनि सुरक्षा भने खासै सुधार हुँदैन ।
त्यसैले सही उपाय भनेको सही बत्तीको छनोट हो । सडकको चौडाइ र प्रयोगअनुसार उपयुक्त लुमेन र कट–अफ डिजाइन भएको बत्तीले सडक सतहमा मात्र सन्तुलित उज्यालो दिन्छ । यसले आँखालाई आराम दिन्छ र दुर्घटनाको जोखिम घटाउँछ ।
यसमा स्मार्ट सडक बत्ती झन् प्रभावकारी हुन्छ । गतिविधि कम हुँदा उज्यालो घटाउने र आवश्यकता पर्दा मात्र बढाउने प्रणालीले ऊर्जा बचत र सुरक्षा दुवै सुनिश्चित गर्छ ।
सही सडक बत्ती डिजाइन भनेको दीर्घकालीन लगानी हो । सुरुदेखि नै सही क्षमता, सही पोल उचाइ, सही दूरी र ऊर्जा दक्ष प्रणाली प्रयोग गरियो भने सडक सुरक्षित हुन्छ, ऊर्जा बचत हुन्छ र मर्मत खर्च घट्छ । राम्रो सडक बत्तीले सहरलाई केवल उज्यालो बनाउँदैन, सुरक्षित, व्यवस्थित र जीवन्त बनाउँछ ।
